राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो
प्रकाशित मिति
२०८३ असार २५ गते, बिहीबार ०४:१३
२५ असार २०८३ काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार उनी मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपाली हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार गणेश नेपालीलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको छ। उनको शरीरको करिब ६५ प्रतिशत भाग जलेको छ र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यद्यपि उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार नेपालीले राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। त्यसपछि नगर प्रहरीको टोलीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएको खुलेको छ।

एसपी भट्टराईले मोटरसाइकलमा ह्विल लक लगाइएकै कारण आत्मदाहको प्रयास गरिएको हो वा अन्य कुनै कारण छ भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। घटनाको वास्तविक कारण अझै खुल्न नसकेको र प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।




प्रतिकृया