स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
प्रकाशित मिति
२०८३ असार १९ गते, शुक्रबार ०१:४७
१९ असार २०८३ काठमाडौं – स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। शुक्रबार जारी विज्ञप्तिअनुसार उक्त भुक्तानीसँगै २०८२ साल मङ्सिर मसान्तसम्मका सबै दाबी बक्यौता फरफारक गरिएको बोर्डले जनाएको छ। रकम भुक्तानी सुरु भएसँगै विभिन्न अस्पतालहरूले स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन गर्न थालेका छन्।
बोर्डले सीमित स्रोतसाधन र दिगो वित्तीय स्रोतको अभावका कारण दाबी भुक्तानी समयमै गर्न नसक्दा सेवा प्रदायक संस्था र बीमित सेवाग्राहीलाई असहज अवस्था सिर्जना भएको स्वीकार गरेको छ। मङ्सिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको बोर्डले जनाएको छ।

साथै, बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित नागरिकको उपचारमा कुनै अवरोध नगरी गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ। बीमित नागरिकलाई पनि स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न तथा अनावश्यक उपचार वा परीक्षणको माग नगर्न अपिल गरिएको छ।






प्रतिकृया