रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
प्रकाशित मिति
२०८३ असार १९ गते, शुक्रबार ०८:५९
१९ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूका लागि आज डिजिटल प्लेटफर्मसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यसहित विकास गरिएको ‘प्लसआरएसपी’ प्रणालीबारे सांसदहरूलाई जानकारी गराइनेछ। साथै, कार्यक्रममा साइबर सुरक्षासम्बन्धी सचेतना पनि प्रदान गरिनेछ।
सभापति रवि लामिछानेको उपस्थितिमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १०:३० बजेदेखि सुरु हुने कार्यक्रममा सांसदहरूले नयाँ प्रणालीको प्रयोगबारे प्रशिक्षण लिनेछन्।

बुर्लाकोटीका अनुसार अभिमुखीकरणपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ। सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग गर्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमा राख्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटलगायत गतिविधिको विवरण पनि सोही पोर्टलमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नागरिकले आफ्ना निर्वाचन क्षेत्रका सांसदसँग यही डिजिटल माध्यमबाट गुनासा तथा सुझाव दर्ता गर्न सक्नेछन्। ती गुनासाको ट्र्याकिङ हुने व्यवस्था गरिनुका साथै त्यसकै आधारमा सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने सुविधा पनि प्रणालीमा समावेश गरिएको रास्वपाले जनाएको छ।




प्रतिकृया