इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
प्रकाशित मिति
२०८३ असार १७ गते, बुधबार ०२:४४
१७ असार २०८३ काठमाडौं – इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्ने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको नयाँ भाडादर निर्धारण गर्ने तयारी गरेको हो।
विभागका निर्देशक मणिराम भुसालका अनुसार इन्धनको नयाँ मूल्यका आधारमा भाडादर समायोजनको काम भइरहेको छ। उनले बुधबार साँझसम्म नयाँ भाडादर सार्वजनिक हुन सक्ने जानकारी दिए। इन्धनको मूल्यमा हुने परिवर्तनसँगै सार्वजनिक यातायातको भाडा पनि समयमै समायोजन हुनुपर्नेमा व्यवसायी र उपभोक्ता दुवै पक्ष सहमत देखिएका छन्। तर, भाडा कति घटाउने भन्ने विषयमा भने उनीहरूको धारणा फरक छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले इन्धनको मूल्य बढ्दा वा घट्दा दुवै अवस्थामा सार्वजनिक यातायातको भाडा पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनुपर्ने बताए। उनका अनुसार हालको भाडा निर्धारण प्रणालीमा ३५ प्रतिशत भार इन्धनको मूल्यलाई र बाँकी ६५ प्रतिशत सञ्चालन खर्च, चालक–सहचालकको पारिश्रमिक, मर्मतसम्भार, बीमा, स्पेयर पार्ट्स तथा अन्य खर्चलाई आधार मानिएको छ। त्यसैले इन्धनको मूल्य परिवर्तन हुँदा सोही अनुपातमा मात्र भाडा समायोजन गर्नुपर्ने उनको भनाइ छ।

यता, उपभोक्ता पक्षले भने इन्धनको मूल्य बढ्दा जति अनुपातमा भाडा बढाइएको थियो, घट्दा पनि सोही दरमा घटाउनुपर्ने माग गरेका छन्। उपभोक्ताकर्मी माधव तिमल्सिनाले वैज्ञानिक भाडादरको नाममा सामान्य मात्र भाडा घटाएर उपभोक्तालाई अन्याय गर्न नहुने बताए। विभागले अन्तरप्रदेशको नयाँ भाडादर सार्वजनिक गरेपछि प्रदेश सरकारले पनि सोहीअनुसार प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्ने तयारी गरेका छन्।




प्रतिकृया