अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
प्रकाशित मिति
२०८३ असार १७ गते, बुधबार ११:१६
१७ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको साँवा २०८४ असार १७ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिनेछ।
ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ र सहभागी संस्थाले बहुब्याजदरमा समेत प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ। ऋणपत्रको अन्तिम ब्याजदर भने बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ।

राष्ट्र बैंकका अनुसार अनलाइन बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजे सञ्चालन हुनेछ। बाँडफाँड गर्दा बोलकबोलमा प्रस्ताव गरिएका ब्याजदरलाई न्यूनदेखि उच्च क्रमसम्म मिलाइनेछ। आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँड रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। सोही एकल ब्याजदरमा उक्त दर वा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीलाई ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।





प्रतिकृया