कालो सिसाविरुद्ध अभियान : गृहमन्त्रीले भने,मेरो गाडीको पनि हटाउनुस्
प्रकाशित मिति
२०८३ असार १५ गते, सोमबार ०४:५७
१५ असार २०८३ काठमाडौं – गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेर गृहमन्त्री गुरुङले ट्राफिक प्रहरीका अधिकारीहरूसँग छलफल गर्दै नियम सबैका लागि समान हुने भन्दै आफूले प्रयोग गर्ने गाडीको कालो सिसा पनि हटाउन निर्देशन दिएका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूलाई सम्बोधन गर्दै उनले भने, ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस्।’ गृहमन्त्रीले चढ्ने सवारीमा कालो सिसा राख्ने प्रचलन रहे पनि गुरुङ अधिकांश समय आफ्नै निजी गाडी प्रयोग गर्दै आएका छन्। उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्दै आएको गाडीको कालो सिसासमेत हटाउने तयारी गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार गृहमन्त्रीको गाडीमा रहेको कालो सिसा पनि नियमअनुसार हटाइनेछ। यसअघि असार १४ गतेदेखि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सुरु गरेको थियो। पहिलो चरणमा स्टिकर हटाउने कार्य भइरहेको छ।

यस्तै, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनका विषयमा आवश्यक व्यवस्था मिलाउन ट्राफिक प्रहरीले सोमबार गाडी बिक्रेता कम्पनीहरूसँग पनि छलफल गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले कम्पनीबाट नै कालो सिसा जडान भएर आएका गाडीबारे आवश्यक समाधान खोज्न सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए।




प्रतिकृया