• ९ असार २०८३, मंगलबार
  • १२:०७ बेलुका

विष्णु पौडेलको नियन्त्रणप्रति एमाले आक्रोशित, ‘प्रतिशोधपूर्ण कदम’ भएको शंकर पोखरेलको आरोप

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार ०९:०९

९ असार २०८३ काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई नियोजित रूपमा नियन्त्रणमा लिइएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले आफूलाई काठमाडौं आएपछि सम्पर्कमा आउन अनुरोध गरेको केही समयमै सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिन निर्देशन दिइएको घटनाले राज्यका अनुसन्धान निकायहरू अदृश्य शक्तिकेन्द्रबाट सञ्चालित भएको संकेत गरेको बताएका छन्।

‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डिजीले फोनमा कुराकानी गरेर भोलि काठमाडौं आएपछि सम्पर्कमा आउनु होला भनेर अनुरोध गर्नुभएको थियो। त्यसको केही समयपछि नै सुर्खेत प्रहरीलाई पत्राचार गरेर नियन्त्रणमा लिन निर्देशन दिइयो,’ पोखरेलले लेखेका छन्, ‘यस घटनाले राज्यका अनुसन्धान गर्ने निकायहरू अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिन्छ।’

Kamana Sewa

पोखरेलले कुनै पनि विषयमा निष्पक्ष र गहिरो अनुसन्धान, तथ्य तथा प्रमाण संकलन र त्यसपछि मात्रै अभियोजन तथा अदालतको निर्णयका आधारमा अघि बढ्नु न्यायसम्मत प्रक्रिया हुने उल्लेख गर्दै पौडेललाई पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला नियन्त्रणमा लिनु पूर्वाग्रही र नियोजित कदम भएको दाबी गरेका छन्।

Classic Tech Desktop

उनले राज्यका न्यायिक तथा अनुसन्धानमूलक निकायहरू स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै तिनका निर्णय राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुन नहुने बताएका छन्। अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालना गरेर अघि बढ्नुपर्ने तथा त्यसलाई कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग गर्न नहुने उनको भनाइ छ।

एमाले न्यायपूर्ण समाज र निष्पक्ष न्यायको पक्षमा सदैव अडिग रहेको उल्लेख गर्दै पोखरेलले कसैलाई पनि पूर्वाग्रहको सिकार बन्न नदिने र वास्तविक दोषी कानुनी कठघराभन्दा बाहिर रहन नहुने बताएका छन्। उपाध्यक्ष पौडेलको गिरफ्तारी आफ्नो पार्टीले अवलम्बन गरेको न्यायिक मान्यताको विपरीत भएको दाबी गर्दै उनले सरकारको निर्देशनमा भएको भनिएको यस्तो ‘प्रतिशोधपूर्ण’ कदमको कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

प्रतिकृया