भारततर्फ चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
प्रकाशित मिति
२०८३ असार ९ गते, मंगलवार ०९:००
९ असार २०८३ काठमाडौं – नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान तथा समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेको छ। कार्यदललाई चिया निर्यातमा देखिएका अवरोध र चुनौतीहरूको विस्तृत अध्ययन गरी तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका सुझावसहित दुई साताभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरू सदस्य रहेका छन्।

त्यस्तै, भन्सार विभागका उप–महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव पनि कार्यदलका सदस्य छन्। कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई तोकिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।





प्रतिकृया