• ४ असार २०८३, बिहीबार
  • ३:१२ बेलुका

सभामुखको अपमान गरेको भन्दै दुई मन्त्रीमाथि संसदमा प्रश्न, एमाले सांसदको नियमापत्ति

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०६:१७

२ असार २०८३ काठमाडौं – प्रतिनिधिसभा बैठकमा सभामुखप्रति सम्मान नदेखाएको आरोपमा दुई मन्त्रीविरुद्ध संसदमा प्रश्न उठेको छ।मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्याल बैठक कक्षमा प्रवेश गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आफ्नो आसनमै बसेको भन्दै नेकपा एमालेका सांसद ऐन महर ले नियमापत्ति गरेका हुन्।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम २० को खण्ड (क) अनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्था उल्लंघन भएको भन्दै सांसद महरले सदनको मर्यादा र गरिमामाथि प्रश्न उठेको बताएका छन्।

Kamana Sewa

‘सदनको गरिमा कायम राख्ने हामी सबैको जिम्मेवारी हो। सभामुख प्रवेश गर्दा सबै सदस्यले उठेर सम्मान गर्नुपर्छ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै दुई मन्त्री बसिरहनुभएको देखियो,’ उनले बैठकमा भने। सांसद महरले संसदको मर्यादा कायम राख्न मन्त्रीहरू समेत जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै नियमावलीको पालनामा सबै गम्भीर बन्नुपर्ने धारणा राखे।

Classic Tech Desktop

यसअघि पनि अर्थमन्त्री वाग्ले संसदमा दिएको अभिव्यक्तिका कारण विवादमा परेका थिए। बजेटमाथिको छलफलका क्रममा प्रतिपक्षी सांसदहरूले करका दर परिवर्तनबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले प्रश्न उठाउने सांसद तथा दलका ‘काण्ड’ सार्वजनिक हुन सक्ने चेतावनी दिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका थिए।

त्यस्तै पूर्वाधार विकासमन्त्री लम्साल पनि केही दिनअघि विवादमा तानिएका थिए। नागढुंगा–मुग्लिङ सडक आयोजनाको निरीक्षणका क्रममा उनले बिजुलीका पोल नसार्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएको अभिव्यक्ति सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको छ।

संसदमा मन्त्रीहरूको व्यवहार र अभिव्यक्तिलाई लिएर पछिल्लो समय लगातार प्रश्न उठ्न थालेका छन्। विपक्षी दलहरूले संसदीय मर्यादा र आचरणको पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिकृया