• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति गठन गर्न शाहीको माग

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०१:३७

२ भदौ २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

National Life

नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले धानिरहेको भए पनि राज्यले श्रमिकको पीडा र अधिकारप्रति बेवास्ता गरेको उनले आरोप लगाए। उनका अनुसार हालसम्म करिब २१ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। यही रकमबाट राज्य सञ्चालन भइरहेको भए पनि विदेशमा रहेका नेपाली श्रमिकको जीवन र अधिकार असुरक्षित रहेको उनको भनाइ छ।

शाहीले नेपालबाट श्रम स्वीकृति लिएर तथा नलिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झन्डै एक करोड पुग्न लागेको दाबी गरे। विदेशमा नेपाली ठगिने, अलपत्र पर्ने तथा सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने समस्या बढिरहेको उनले बताए। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको संख्या पनि भयावह रहेको उल्लेख गर्दै शाहीले हालसम्म १६ हजार ७६० नेपालीको शव नेपाल फर्किएको जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

जापानको उदाहरण दिँदै उनले पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको दाबी गरे। कन्सल्टेन्सी तथा गिरोहले कुकिङ र विद्यार्थी भिसाका नाममा युवासँग मोटो रकम असुल गरी विदेशमा अलपत्र पार्ने गरेको उनको आरोप छ। विदेशमा रहेका नेपाली श्रमिकको समस्या समाधान, ठगीको छानबिन तथा पीडितको उद्धारका लागि सरकारले तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने शाहीले माग गरेका छन्।

प्रतिकृया