• ३१ जेठ २०८३, आइतबार
  • ६:२५ बेलुका

सहरी यातायातदेखि सामूहिक आवाससम्म : काठमाडौं महानगरको नीति तथा कार्यक्रममा व्यापक योजना

प्रकाशित मिति

२०८३ जेष्ठ ३१ गते, आईतवार ०२:०६

३१ जेठ २०८३ काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सहरी यातायात सुधार, जग्गा एकीकरण आयोजनाको व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकताका साथ समेटेको छ।

महानगरले सडक सुरक्षा र दिगो सहरी यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित पैदल यात्री तथा साइकलमैत्री पूर्वाधार निर्माणलाई अघि बढाउने भएको छ। साथै ‘जीवन्त र समृद्ध सहर’ को अवधारणालाई साकार पार्न साझा यातायातमार्फत रात्रिकालीन सार्वजनिक यातायात सेवालाई क्रमशः विस्तार गर्ने नीति लिएको छ।

Kamana Sewa

आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रमअनुसार वर्षौँदेखि सञ्चालनमा रहेका नयाँबजार र चःमति जग्गा एकीकरण आयोजनाको हस्तान्तरणका लागि आवश्यक कानुनी व्यवस्था गरिनेछ। यस्तै, मनोहरा जग्गा एकीकरण आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिने भएको छ।

Classic Tech Desktop

सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र व्यवस्थापनलाई पनि महानगरले प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा सुन्धारा–धरहरा क्षेत्रको प्रभावकारी सञ्चालन, भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र स्थापना तथा काठमाडौं प्लाजा भवनलाई दीर्घकालीन रूपमा महानगरको प्रयोगमा ल्याउन नेपाल सरकारसँग पहल गरिने उल्लेख गरिएको छ।

सामाजिक क्षेत्रतर्फ नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीबाट उद्धार गरिएका व्यक्तिहरूको व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय गरी विशेष कार्ययोजना लागू गरिने भएको छ।

त्यस्तै, सहरी गरिब, विस्थापित तथा साहाराविहीन परिवारका लागि संघ र प्रदेश सरकारको सहकार्यमा उपयुक्त स्थान पहिचान गरी ‘सामूहिक आवास’ को व्यवस्था गर्ने योजना पनि महानगरले अघि सारेको छ।

महानगरका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रमले व्यवस्थित सहरी विकास, सुरक्षित यातायात, सम्पदा संरक्षण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर राजधानीको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको छ।

प्रतिकृया