असारमा १७ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, अधिकतम ४.७५ प्रतिशत मात्रै पाइने
प्रकाशित मिति
२०८३ जेष्ठ ३१ गते, आईतवार ०१:५६
३१ जेठ २०८३ काठमाडौं – असार महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १७ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठको तुलनामा असारमा निक्षेपको ब्याजदर थप घटेको हो ।

सार्वजनिक विवरणअनुसार ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका छन् भने ६ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा लक्ष्मी सनराइज बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र एनएमबी बैंक रहेका छन् ।

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूबाट अधिकतम ४.७५ प्रतिशतसम्म ब्याज पाइने भएको छ । एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ब्याजदर प्रदान गर्ने भएका छन् । जेठमा औसत निक्षेप ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा घटेर ४.२७ प्रतिशतमा झरेको छ ।

यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ३.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकहरूले रेमिट्यान्स खातामा भने व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा एक प्रतिशत बिन्दुले बढी ब्याज प्रदान गर्दै आएका छन् ।
बैंकिङ प्रणालीमा कर्जा लगानी योग्य रकम (तरलता) उच्च रहँदा निक्षेपको ब्याजदर लगातार घट्दै गएको हो । हाल बैंकहरूसँग करिब १३ खर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गर्न मिल्ने रकम रहेको छ । कर्जा माग अपेक्षाअनुसार नबढेपछि बैंकहरूले अतिरिक्त रकम नेपाल राष्ट्र बैंकमा २.५० प्रतिशतदेखि ३ प्रतिशतसम्मको ब्याजदरमा राखिरहेका छन् ।
हाल बैंक तथा वित्तीय संस्थाहरूले ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । ती संस्थाहरूले ५९ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय मासिक रूपमा २ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिन थालेपछि बैंकिङ प्रणालीमा निक्षेप थप बढ्दै गएको छ ।
बैंकिङ क्षेत्रमा उच्च तरलता, कमजोर कर्जा माग र बढ्दो रेमिट्यान्स प्रवाहका कारण निक्षेपको ब्याजदर घट्ने क्रम अझै केही समय जारी रहने अनुमान गरिएको छ ।




प्रतिकृया