परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने चीन भ्रमणमा प्रस्थान
प्रकाशित मिति
२०८३ जेष्ठ ३१ गते, आईतवार ०७:३७
३१ जेठ २०८३ काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक चीन भ्रमणमा जाँदैछन्। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा मन्त्री खनाल चीन जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा बेइजिङमा मन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ। साथै उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा विभिन्न क्षेत्रमा साझेदारीलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ।

भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्य राखिएको छ। सो अवसरमा उनले चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै नेपालका लगानी अवसर र सम्भावनाबारे जानकारी गराउनेछन्।
त्यसैगरी, नेपाली राजदूतावासद्वारा आयोजना गरिने स्वागत कार्यक्रममा सहभागी भई उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ। खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायतका अधिकारीहरू सहभागी छन्।




प्रतिकृया