संविधान संशोधन बहसप्रति अमरेश सिंहको कटाक्ष
प्रकाशित मिति
२०८३ जेष्ठ २९ गते, शुक्रबार ०४:०१
२९ जेठ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले सरकारले अघि बढाएको संविधान संशोधन बहसमाथि कडा प्रश्न उठाएका छन्। उनले संविधान संशोधनका लागि गठित कार्यदल र त्यसको नेतृत्वप्रति समेत असन्तुष्टि व्यक्त गर्दै हालको बहसलाई मूल मुद्दाबाट ध्यान मोड्ने प्रयासको रूपमा चित्रण गरेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन सम्भव नरहेको दाबी गरे। उनले २०७२ सालको संविधानमा कुनै संरचनागत समस्या नरहेको उल्लेख गर्दै समस्या संविधानमा नभई नेतृत्वको नियत र कार्यशैलीमा रहेको बताए।

सिंहले संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमत, राष्ट्रिय सभा तथा प्रदेशहरूको समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै वर्तमान अवस्थामा संशोधन सम्भव नभएको जिकिर गरे।

उनले संविधान संशोधन बहसलाई राजनीतिक एजेन्डाभन्दा पनि ध्यान अन्यत्र मोड्ने प्रयासका रूपमा व्याख्या गर्दै भने, “यो संविधान संशोधन हुनेवाला छैन। बरु अहिलेको व्यवस्था नै संकटतर्फ गइरहेको छ।”
सिंहले लोकतान्त्रिक व्यवस्था जोगाउन राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिँदै संविधानभन्दा पनि शासन सञ्चालनको शैली, नेतृत्वको नियत र संस्थागत अभ्यास सुधार गर्नु आवश्यक रहेको बताए।
उनले वर्तमान बहसले जनताका वास्तविक समस्या ओझेलमा पारेको आरोप लगाउँदै लोकतन्त्र र संवैधानिक व्यवस्थाको संरक्षणतर्फ सबै राजनीतिक शक्तिहरूको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे।




प्रतिकृया