नक्कली सरकारी कार्यालय खडा गरी ठगी, श्रीमान–श्रीमती पक्राउ
प्रकाशित मिति
२०८३ जेष्ठ २८ गते, बिहीबार ०२:०१
बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी भएको घटना बाहिर आएपछि बर्दियामा नक्कली सरकारी कार्यालय नै सञ्चालन गरिएको खुलासा भएको छ। प्रहरीले ठगीमा संलग्न भएको आरोपमा श्रीमान–श्रीमतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी रहेका छन्।
उनीहरूले ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली सरकारी कार्यालय खडा गरी सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ। सो कार्यालयका लागि नक्कली साइनबोर्ड, लेटरप्याड र छापसमेत प्रयोग गरिएको थियो।

प्रहरीका अनुसार उनीहरूले सरकारी निकायसँग मिल्दोजुल्दो नाम प्रयोग गरी स्थानीयलाई रोजगारी दिने बहानामा ठगी गर्दै आएका थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत दाङको लमहीमा रहेको वास्तविक ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’ सँग मिल्ने गरी नक्कली कार्यालय स्थापना गरिएको थियो।

अनुसन्धानका क्रममा उनीहरूले स्थानीयलाई कर्मचारीका रूपमा नियुक्त गरेको, ज्यालादारी काममा लगाएको तर भुक्तानी नदिएको समेत खुलेको छ। यसै क्रममा कार्यालय सञ्चालन गरिएको घरधनीलाई भवनको तल्ला थप्न लगाएर समेत रकम नदिएको आरोप उनीहरूमाथि लागेको छ।
घरधनीको जाहेरीपछि सुरु भएको अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिकृया