परराष्ट्रमन्त्री खनाल औपचारिक भारत भ्रमणमा प्रस्थान
प्रकाशित मिति
२०८३ जेष्ठ २२ गते, शुक्रबार ०१:१६
२२ जेठ २०८३ काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले यो वर्तमान सरकार बनेपछिको पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै यसलाई महत्त्वपूर्ण कूटनीतिक अवसरका रूपमा लिएको बताएका छन्। उनले भ्रमणका क्रममा देशका प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताए।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा गहन छलफल हुने बताइएको छ।

विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित हुने मन्त्रालयले जनाएको छ।
नेपाल र भारतबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने तथा सहकार्य विस्तार गर्ने उद्देश्यले यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।
मन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।




प्रतिकृया