आज र भोलि देशभर ‘भिटामिन ए’ अभियान, २२ लाख बालबालिका लाभान्वित हुने
प्रकाशित मिति
२०८३ बैशाख ६ गते, आईतवार ११:५०
६ बैशाख २०८३ काठमाडौं – सरकारले आज र भोलि देशभरिका बालबालिकालाई लक्षित गर्दै भिटामिन ‘ए’ खुवाउने अभियान सञ्चालन गरेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिनसम्म भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि वितरण गरिरहेको हो।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइँदैछ।
कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। अभियानमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ले बालबालिकाको आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता तथा समग्र वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्छ। साथै, जुकाको औषधिले पेटका किरा हटाउनुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखालाजस्ता समस्या कम गर्न मद्दत गर्छ।
नेपालमा भिटामिन ‘ए’ अभाव रोकथामका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु गरिएको कार्यक्रम २०५९ सालदेखि देशभर लागू गरिएको हो। त्यस्तै, जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालमा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सबै जिल्लामा विस्तार गरिएको थियो।
हरेक वर्ष कात्तिक र वैशाख महिनामा सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।






प्रतिकृया