कानुनमन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक,अन्य के-के छन् ?
प्रकाशित मिति
२०८२ चैत्र २९ गते, आईतवार ०९:०९
२९ चैत,२०८२ काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्री गौतमसँग सुन, चाँदी, नगद तथा सेयरलगायत विभिन्न सम्पत्ति रहेको देखिएको छ।
विवरण अनुसार, मन्त्री गौतमसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको छ। सुनमध्ये १० तोला विवाहमा प्राप्त भएको र ५ तोला पैतृक रहेको उल्लेख गरिएको छ।
उनको नाममा चितवनको भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा रहेको छ, जुन सासूससुराको नाममा रहेको जनाइएको छ। यस्तै, सवारी साधनतर्फ करिब १ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको सम्पत्ति उल्लेख गरिएको छ।
बैंक मौज्दाततर्फ एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय, नबिल बैंकमा ४ लाख ८१ हजार, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार र ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ रहेको छ।
लगानीतर्फ, उनको ग्लोबल हिमालय ट्रक एन्ड ट्रेड्समा ५० प्रतिशत सेयर र सोपन मल्टीपल कम्पनीमा ६ हजार ५०० कित्ता सेयर रहेको उल्लेख छ।
यस्तै, उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रुपैयाँ बराबरको गाडी रहेको छ, जुन ऋण र तलबबाट खरिद गरिएको जनाइएको छ। साथै २ लाख ७५ हजार रुपैयाँ बराबरको एक थान स्कुटर समेत रहेको विवरणमा उल्लेख छ।








प्रतिकृया