नेपाल राष्ट्र बैंकद्वारा १४ लघुवित्त संस्थामाथि कारबाही
प्रकाशित मिति
२०८२ चैत्र १८ गते, बुधबार ०३:४१
१८ चैत,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गर्ने १४ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। पूँजीकोष नपुर्याउने तथा बचतकर्तालाई दिने न्यूनतम ब्याजदर कायम नगरेको पाइएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो।
राष्ट्र बैंकका अनुसार ८ वटा लघुवित्त संस्थाको पूँजीकोष तोकिएको भन्दा कम रहेको छ। नियमअनुसार लघुवित्त संस्थाले कुल जोखिम भारित सम्पत्तिको कम्तीमा ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ।
संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थाको पूँजीकोष ८ प्रतिशतभन्दा कम देखिएको छ भने यो संस्था हाल समस्याग्रस्त घोषणा भई फुकुवाको प्रक्रियामा रहेको छ। यस्तै, नाडेप लघुवित्त र अभियान लघुवित्त पनि न्यून पूँजीकोषका कारण कारबाहीमा परेका छन्। फरवार्ड माइक्रोफाइनान्स, सामुदायिक, यूनिक र मातृभूमि लघुवित्तलाई पनि पूँजीकोष वृद्धि गर्न निर्देशन दिइएको छ।
यता, ब्याजदरसम्बन्धी व्यवस्थामा पनि त्रुटि देखिएको छ। नियमअनुसार कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी बचतमा न्यूनतम ब्याजदर निर्धारण गर्नुपर्ने भए पनि कालिका, नाडेप र आत्मनिर्भर लघुवित्तले यस मापदण्ड पालना नगरेको राष्ट्र बैंकले जनाएको छ।
साथै, सुपरीवेक्षकीय सूचना प्रणालीमा विवरण नपठाउने संस्थाहरूलाई पनि चेतावनी दिइएको छ। अभियान, नेरुडे मिर्मिरे र संजीवनी (सुपर) लघुवित्तले हालसम्म कुनै तथ्यांक पेश नगरेका छन् भने श्रृजनशील र उन्नति सहकार्य लघुवित्तले न्यून मात्रामा विवरण पठाएका छन्।
राष्ट्र बैंकले सबै लघुवित्त संस्थालाई नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिँदै उल्लंघन गर्नेहरूमाथि थप कडा कदम चाल्ने संकेत दिएको छ।








प्रतिकृया