पक्राउ परेका काठमाडौँका तत्कालीन सीडीओ रिजालमाथि यस्तो छ आरोप
प्रकाशित मिति
२०८२ चैत्र १७ गते, मंगलवार १२:१२
१७ चैत,२०८२ काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएको घटनामा संलग्न रहेको आरोपमा तत्कालीन उच्च अधिकारीहरू पक्राउ पर्ने क्रमसँगै काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। उनीलाई मंगलबार बिहान काठमाडौँको सुविधानगरबाट प्रहरीले पक्राउ गरेको हो। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्।
भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा घातक बल प्रयोग हुँदा मानवीय क्षति भएको विषयमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसअनुसार रिजाललाई पक्राउ गरिएको बताइएको छ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उक्त घटनामा तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि कारबाही अघि बढाइएको हो।
आयोगको प्रतिवेदनअनुसार रिजालमाथि पदीय जिम्मेवारीमा गम्भीर लापरवाही गरेको आरोप छ। बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले लामो समयसम्म गोली चलाउँदा पनि उनले प्रभावकारी नियन्त्रण तथा समन्वय नगरेको आयोगको निष्कर्ष छ।
यस्तै, कर्फ्यु आदेशपछि पनि सुरक्षा निकायबीच समन्वय गराउन नसकेको र बल प्रयोगको सिद्धान्त पालना गराउन असफल भएको आरोप पनि उनीमाथि लगाइएको छ।
रिजालले भने आफूले घातक हतियार प्रयोग गर्ने आदेश नदिएको दाबी गर्दै, न्यूनतम बल प्रयोग गर्न मात्र निर्देशन दिएको बताएका छन्। उनले संसद भवन सुरक्षा र प्रदर्शनकारीको ज्यान बचाउने उद्देश्यले काम गरेको जिकिर गरेका छन्।
यस घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।








प्रतिकृया