पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु
प्रकाशित मिति
२०८२ माघ २० गते, मंगलवार ०९:०३
२० माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। यसको प्रभावका कारण देशभर आंशिक बदली रहनुका साथै तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
विभागका अनुसार देशका तराई भू-भागमा केही दिन हुस्सु/कुहिरोको प्रभाव रहनेछ। साथै २०८२ माघ २० गते देशका सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ। यसका कारण ती क्षेत्रहरूमा चिसो बढ्नुका साथै दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने विभागले चेतावनी दिएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात वा वर्षाको सम्भावना छ। त्यस्तै बाँकी हिमाली भू-भागका थोरै स्थानहरूमा पनि मध्यम हिमपात वा वर्षा हुन सक्नेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशका हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात वा वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले चिसो, हिमपात तथा हुस्सुका कारण हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।




प्रतिकृया