• १९ असोज २०८३, सोमबार
  • ७ः१७ बेलुका

सीआईबीले पाँच वर्ष पुराना ‘फेक रेस्क्यु’ बीमा ठगी फाइल खोलेर अनुसन्धान तीव्र, ६ जना पक्राउ

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०२:३०

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच वर्षअघि राजनीतिक आडमा बन्द गरिएका ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) सम्बन्धी बीमा ठगीका फाइल पुनः खोलेर अनुसन्धान तीव्र बनाएको छ। सरकारको निर्देशनपछि सीआईबीले विगतमा क्लोज गरिएका गम्भीर बीमा ठगीका मुद्दा पुनः खोल्ने प्रक्रिया थालेको हो।

National Life

फाइल ओपन भएसँगै अन्य बीमा कम्पनीसँग सम्बन्धित ठगीका घटनाहरू पनि क्रमशः अनुसन्धानमा ल्याइने सीआईबीले जनाएको छ। सीआईबीका अनुसार विदेशी पर्यटकलाई लक्षित गरी केही ट्रेकिङ–ट्राभल कम्पनी, हेलिकप्टर रेस्क्यु कम्पनी, अस्पताल र गाइडको मिलेमतोमा नक्कली उद्धार देखाई बीमाको रकम हत्याउने गरिएको छ। चार्टर फ्लाइट र नियमित उडानलाई समेत रेस्क्यु देखाएर बीमा दाबी गरिएको प्रमाण फेला परेको छ।

सीआईबी प्रमुख एआईजी डा. मनोज केसीका अनुसार एउटै चार्टर फ्लाइटलाई विभिन्न समयमा फरक–फरक पर्यटकको रेस्क्यु देखाई ‘सिंगल फ्लाइट, मल्टिपल बिलिङ’ गरिएको भेटिएको छ। पदयात्रा सकिएपछि पर्यटकलाई चार्टर फ्लाइटमार्फत काठमाडौं ल्याएर रेस्क्युको नाटक गर्ने गरिएको समेत खुलेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अनुसन्धानका क्रममा हालसम्म ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर सर्भिस र एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरू रहेका छन्। यी तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सीआईबीका अनुसार सन् २०२२ यता मात्रै यी तीन कम्पनीले नक्कली उद्धारमार्फत करिब १९.६९ मिलियन अमेरिकी डलर बराबरको बीमा रकम लिएको पाइएको छ। नक्कली उद्धार बढेपछि केही बीमा कम्पनीले पर्यटक बीमाको प्रिमियम नै रोक्न थालेका छन्।

सीआईबीले पक्राउ परेकामाथि संगठित अपराध, ठगी, किर्ते तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, नक्कली उद्धारले नेपालको अन्तर्राष्ट्रिय छवि, पर्यटन क्षेत्र र वास्तविक उद्धारको प्रतीक्षामा रहेका पर्यटकको ज्यानमा समेत जोखिम बढाउने सीआईबीको निष्कर्ष छ।

प्रतिकृया