गोंगबु दोहोरी साँझमा झडप, पैदल यात्री बबिन गुरुङको हत्या
प्रकाशित मिति
२०८२ पुष ३ गते, बिहीबार ०५:०४
३ पुस,२०८२ काठमाडौं— काठमाडौंको गोंगबुमा रहेको एक दोहोरी साँझमा झडप भएको छ। झडपको क्रममा पैदल हिँड्दै गरेका २० वर्षीय बबिन गुरुङको हत्या भएको प्रहरीले जनाएको छ। बबिन गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबुमा बस्दै आएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, झगडा गर्ने समूहले सडकमा हिँड्दै गरेको बबिनमाथि धारिलो हतियार प्रहार गरेको थियो। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल र त्यसपछि केएमसी अस्पताल लगिएको थियो। बुधबार बिहान ५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ।
घटनामा संलग्न समूहमा धादिङका हरिशरण पन्त (३०) र श्रीकृष्ण पन्त (३५) रहेका थिए। अर्का पक्षमा वीरेन्द्र साउद (२६), जनक सिंह नगारी (२६), प्रज्वल भुजेल (३०) र मनोज सुनार (२९) रहेका थिए।
दोहोरी सञ्चालक शिव सौगात सुवेदीले दुवै पक्षलाई बाहिर निकाल्दा पनि सडकमा पुनः झगडा भयो र बबिनमाथि आक्रमण भयो। प्रहरीले झगडामा संलग्न ६ जनासहित सञ्चालक सुवेदीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखेर अनुसन्धान जारी छ।








प्रतिकृया