नेपाल राष्ट्र बैंकले १० दिनका लागि ३५ अर्ब रुपैयाँ निक्षेप खिच्ने
प्रकाशित मिति
२०८२ मंसिर २८ गते, आईतवार ११:५९
मंसिर २८,२०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज (आइतबार) १० दिनका लागि ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत अनलाइन बोलकबोल प्रणाली प्रयोग गरी उक्त रकम संकलन गर्न लागेको हो।
अहिले बैंकिङ प्रणालीमा कुल निक्षेप ७५ खर्ब रुपैयाँ नाघिसकेको छ। तरलता अत्यधिक भएपछि बजार ब्याजदरलाई व्यवस्थित राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत निरन्तर तरलता खिच्दै आएको छ।
आजको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकतामा राखी आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साल पुष ९ गते भुक्तानी गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम कुल आह्वान रकमलाई ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निर्धारण गरिएको छ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थापनका लागि संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ।
यही व्यवस्था अनुरूप राष्ट्र बैंकले पछिल्लो समय पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन गर्दै आएको छ।








प्रतिकृया