गभर्नर पौडेल बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडद्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र
प्रकाशित मिति
२०८२ मंसिर २८ गते, आईतवार ११:३३
मंसिर २८,२०८२ काठमाडौं— जेन–जी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार बिहान अर्थमन्त्रालयमा जेन–जी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था लत्याउँदै तत्कालीन सरकारले स्वार्थ समूहको डिजाइनमा डा. पौडेललाई गभर्नर नियुक्त गरेको दाबी गरिएको छ । साथै, सरकारले गठन गरेको सिफारिस समितिले आफ्नो अख्तियारीको दुरुपयोग गर्दै पौडेललाई गभर्नरका लागि सिफारिस गरेको आरोपसमेत लगाइएको छ ।
संयोजक परियारले डा. पौडेललाई पदबाट हटाई ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरेका छन् । उनले शैक्षिक योग्यता र अनुभवको आधारमा पनि पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐनको मर्मविपरीत भएको दाबी गरे । पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक र एग्रिकल्चरमा स्नातकोत्तर गरेको भए पनि राष्ट्र बैंक गभर्नरका लागि आवश्यक अनुभव नपुगेको जेन–जी युनाइटेडको भनाइ छ ।
जेन–जी युनाइटेडले ऐनको पालना गर्दै राष्ट्र बैंकको नेतृत्व पारदर्शी र योग्य व्यक्तिबाट गरिनुपर्ने मागसमेत गरेको छ ।









प्रतिकृया