भैरहवा आन्तरिक राजस्व कार्यालयले चार महिनामै लक्ष्यभन्दा १ अर्ब १५ करोड बढी राजस्व संकलन
प्रकाशित मिति
२०८२ मंसिर ७ गते, आईतवार ०९:५६
मंसिर ७, २०८२ भैरहवा – आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०८२/८३ को चार महिनामा उल्लेखनीय राजस्व वृद्धि हासिल गर्दै लक्ष्यभन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ।
साउनदेखि कात्तिकसम्म चार महिनामा कार्यालयलाई आन्तरिक राजस्व विभागले ४ अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व संकलनको लक्ष्य दिएको थियो। तर कार्यालयले यो अवधिमा ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए। यो लक्ष्यको १२७.३ प्रतिशत र २७.३ प्रतिशतले बढी राजस्व संकलन हो।
गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले ३ अर्ब ५६ करोड २ लाख ६१ हजार राजस्व संकलन गरेको थियो। यस वर्ष सोही अवधि तुलनामा ५१.५ प्रतिशतले वृद्धि भएको कार्यालयले बताएको छ।
पोख्रेलका अनुसार चारै महिनामा लक्ष्य प्राप्त मात्र होइन, लक्ष्यभन्दा बढी संकलन गर्ने परिणाम हासिल भएको हो। कुल राजस्वमा ८२.६% हिस्सा अन्तःशुल्कले ओगटेको छ। त्यस्तै मूल्य अभिवृद्धि कर (VAT) र आयकर असुली पनि सन्तोषजनक रहेको कार्यालयले जनाएको छ।
राजस्व वृद्धि उद्योगी–व्यवसायी र कर प्रशासनबीचको टिमवर्क को नतिजा भएको प्रमुख कर अधिकृत पोख्रेलले बताए। भैरहवास्थित कार्यालयअन्तर्गत हाल ६४ हजारभन्दा बढी करदाता रहेका छन्।







प्रतिकृया