२०७९ मा काठमाडौँमा गरिएको निर्णयले बालेनको उदय सम्भव भयो: गगन थापा
प्रकाशित मिति
२०८२ कार्तिक २८ गते, शुक्रबार १०:३५
कात्तिक २८, २०८२ काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार छनोटदेखि सम्पूर्ण प्रक्रियामा कमजोरी देखिएकै कारण स्वतन्त्र उम्मेदवार बालेन साहको उदय भएको स्पष्ट रूपमा स्वीकार गरेका छन्।
आज बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आफूले विगतका राजनीतिक निर्णयमा गरेका गल्तीहरू उल्लेख गर्दै उनले काठमाडौँ महानगरको प्रसङ्ग खुलेर निकाले।
थापाका अनुसार उम्मेदवार चयनका क्रममा सभापति शेरबहादुर देउवासँग भएको संवाद त्यतिबेला निर्णायक मोड बन्न पुगेको थियो। उनले भने, “स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा मैले सभापतिजीलाई चेतावनी दिएको थिएँ— यो निर्णय आज गर्नुभयो भने यसको कारणले आउने पात्रले नेपालको राजनीतिमा ठूलो मूल्य चुकाउनु पर्नेछ। रोकौँ भनेँ, तर रोक्न सकिनँ। मेरो गल्ती हो।”
थापाले सभापतिलाई “यो निर्णयले ठूलो असर पार्छ” भने पनि अन्ततः आफ्नो अडान कडा रूपमा नलिएकोमा पछुतो व्यक्त गरे।उनको भनाइमा, “मैले त्यसबेला घुँडा धसेर मान्नु हुँदैनथ्यो। अडान लिनैपर्ने रहेछ। तर सभापतिज्यूले ‘यार मिल्दैन यार’ भन्नुभयो। त्यस निर्णयको मूल्य आज पनि नेपालको राजनीतिले तिरिरहेको छ।”
थापाले अहिले पनि कांग्रेसभित्र निर्णय प्रक्रियामा कमजोरी देखिएको उल्लेख गर्दै नेतृत्व शैली, आन्तरिक लोकतन्त्र र निर्णयमा पारदर्शिता वृद्धि गर्न आवश्यक रहेको बताए। उनका अनुसार पार्टीका महत्त्वपूर्ण मोडमा नेतृत्वले सहमति र सामूहिक बुद्धिबललाई प्राथमिकता नदिँदा दीर्घकालीन नकारात्मक प्रभाव परेको छ।








प्रतिकृया