छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाओस् : प्रधानमन्त्री कार्की
प्रकाशित मिति
२०८२ कार्तिक १० गते, सोमबार ०७:४२
कात्तिक १०, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै सबै नेपालीलाई राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन आग्रह गरेकी छन्। छठ पर्वको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अहिलेको संवेदनशील राजनीतिक परिस्थितिमा सबै नेपालीबीच अझ बढी एकता र सद्भावको आवश्यकता औंल्याएकी छन्।
उनले भनिन्, “छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक हुन्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको खाँचो छ।” प्रधानमन्त्री कार्कीले सत्य, अहिंसा र प्रकृतिप्रेममा आधारित यो पर्वले तराई–पहाडबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध सुदृढ बनाउने सेतुको काम गरिरहेको बताएकी छन्।
उनले हालको राजनीतिक परिस्थितिलाई सन्तुलित बनाउँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिइन्। सडक प्रदर्शन मात्र समाधान होइन भन्दै उनले असन्तुष्टि भए पनि शान्तिपूर्ण ढङ्गले प्रस्तुत गरी निर्वाचनमार्फत जनमत हासिल गर्नु नै लोकतन्त्रको सर्वोत्तम अभ्यास भएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई एक “राष्ट्रिय अनुष्ठान” का रूपमा ग्रहण गरी सफल बनाउन सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालालाई आह्वान गरेकी छन्।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ, उनले भनिन्, सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला आएको छ।
छठ पर्वको सन्दर्भमा उनले पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी–पोखरीका किनारमा देखिने उत्सवका दृश्यहरूले नेपाली समाजमा सद्भाव, खुशी र सकारात्मक ऊर्जा फैलाओस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।








प्रतिकृया