जेनजी आन्दोलनका पीडितलाई सीएसआर रकम प्रयोग गर्न मिल्ने, राष्ट्र बैंकको मार्गदर्शनमा संशोधन
प्रकाशित मिति
२०८२ आश्विन २९ गते, बुधबार १०:५०
असोज २९,२०८२ काठमाडौं- नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ मा संशोधन गर्दै अब बैंक तथा वित्तीय संस्थाले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई सहयोग गर्न सक्ने व्यवस्था गरेको छ।
संशोधित मार्गदर्शन अनुसार, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा पूर्वाधार विकास बैंकहरूले आफ्नो वार्षिक संस्थागत सामाजिक उत्तरदायित्वको बजेटबाट जेनजी आन्दोलनका पीडितहरूलाई लक्षित गरी विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार, आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधोपचार खर्च सीएसआर रकमबाट सम्बन्धित अस्पताललाई उपलब्ध गराउन सकिनेछ। यद्यपि, सो रकम अन्य स्रोतबाट दोहोरो रूपमा नपर्ने गरी मात्र वितरण गर्न सकिने प्रावधान राखिएको छ।
त्यस्तै, आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारमा प्रत्यक्ष आय आर्जन नभएका सदस्यहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिममा सहयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ। यसका लागि नेपाल सरकार वा सरकारले स्वीकृत गरेका तालिम प्रदायक संस्थामार्फत तालिम लिएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाले सीएसआरको रकम उपलब्ध गराउन सक्नेछन्।
यसअघि बैंकहरूले सीएसआर रकम शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी विपद् राहत तथा सामुदायिक विकासमा केन्द्रित गर्दै आएका थिए। नयाँ संशोधनले बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वलाई थप जनउत्तरदायी र समसामयिक बनाउने प्रयास भएको विश्लेषण गरिएको छ।








प्रतिकृया