इलाममा पहिरोको कहर: मृतक संख्या ३७ पुग्यो, एकजना अझै बेपत्ता (विवरणसहित)
प्रकाशित मिति
२०८२ आश्विन २० गते, सोमबार ०६:३८
इलाममा गएरातिदेखि परेको अविरल वर्षासँगै आएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार, पहिरोमा हराइरहेका तीन जनाको शव भेटिएसँगै मृत्यु संख्या ३७ पुगेको हो।
प्रहरीका अनुसार हालसम्म इलामका विभिन्न स्थानीय तहहरूमा ठूलो मानवीय क्षति भएको छ। माईजोगमाई गाउँपालिका, फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, सन्दकपुर गाउँपालिका, माई नगरपालिका, र इलाम नगरपालिकामा सबैभन्दा बढी क्षति भएको हो।
मृतकहरूमा एकै परिवारका धेरै सदस्यहरू पनि परेका छन्। माईजोगमाई गाउँपालिका–६ का किरण थेवे (२८), मनमाया थेवे (१८), मुनुसा थेवे (३), तथा माईजोगमाई–३ का बर्मालल सोङमी (८२), बुद्धमाया सोङमी (७०), धनबल सोङमी (४६), सरला सोङ्मी (४२) र प्रकृती सोङमी (१४) को ज्यान गएको छ।
त्यस्तै, फाकफोकथुम–३ का सुरेश लिम्बू (२८), सूर्योदय–१ की मनमाया क्षेत्री (६५) र रस्मिका क्षेत्री (१०), इलाम नगरपालिका–६ का समिर देउजाली (२३), प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङ, देउमाई–५ का रोशन लिम्बू (२२), बेबिसा राई (२२), दीपक लिम्बू (३०), ऋषिका लिम्बू (२७), दिपिस्का लिम्बू (१०), देउमाई–३ का कृष्ण मगर (२८), माई नगरपालिका–५ की प्रिन्सिखा मगर (८) लगायतको ज्यान गएको पुष्टि भएको छ।
विभिन्न कामले इलाम आएका अरू जिल्लाका नागरिकको पनि मृत्यु भएको छ। मृतकमध्ये झापा, पाँचथर, मोरङ र दोलखा जिल्लाका बासिन्दा पनि परेका छन्।
झापाको अर्जुनधारा–६ की अनु तामाङ (३२) र आवास दनुवार, पाँचथरको फाक्तेपका सौजन लिम्बू (९) र सौगात लिम्बू (११), मिक्लाजुङ–६ की नेहा राई (१७), दोलखाका दीप बस्नेत (४५), भवानी बस्नेत (४४) र दिव्या बस्नेत (१२) को पनि पहिरोमा परी मृत्यु भएको पुष्टि भएको छ।
इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू अझै बेपत्ता रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। प्रहरी उपरीक्षक कोइरालाका अनुसार, “सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ। सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ, तथापि हामी उद्धार तथा राहतमा निरन्तर लागिरहेका छौँ।”
स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा खोजी र उद्धार कार्य जारी छ। मौसममा केही सुधार आए पनि सडक अवरोध, सञ्चार र विद्युत् आपूर्तिमा समस्या कायमै रहेको छ।









प्रतिकृया