ऊर्जामन्त्री घिसिङ र बेलायतका राजदूत फेनबीच भेटवार्ता, के भयो कुरा ?
प्रकाशित मिति
२०८२ आश्विन ७ गते, मंगलवार ०१:४९
असोज ७, २०८२ काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायहरुका लागि आवश्यक सहयोग लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री घिसिङले जेन—जी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताको रुपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताए ।
नेपालको पुरानो मित्र बेलायतले नेपालको आर्थिक विकासमा गरेको सहयोगको सरहना गर्दै नेपाललाई कार्वनरहित बनाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताए ।








प्रतिकृया