• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

सुशीला कार्की : पहिलो महिला प्रधानन्यायाधीशदेखि पहिलो महिला प्रधानमन्त्रीसम्मको ऐतिहासिक यात्रा

प्रकाशित मिति

२०८२ भाद्र २८ गते, शनिबार ०६:१२

काठमाडौं । नेपालको न्यायपालिकाको नेतृत्व गरेर इतिहास रचिसकेकी सुशीला कार्की अहिले देशको कार्यकारी नेतृत्वमा पुगेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार मन्त्रिपरिषद्को अध्यक्ष (अन्तरिम सरकार प्रमुख) मा नियुक्त गरेसँगै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।

National Life

यसअघि सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेर चर्चामा आएकी कार्कीले अहिले फेरि अर्को नयाँ इतिहास रचेकी छिन् । भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ युवाको मृत्यु भयो। भोलिपल्ट देशभर आन्दोलन, आगजनी र तोडफोड चर्किँदै गयो। दबाबका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि दलहरूबीच भएको सहमतिअनुसार संसद् विघटन गरियो र आन्दोलनकारी युवाको माग सम्बोधन गर्ने जिम्मेवारीसहित सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरियो।

वि.सं. २००९ जेठ २५ मा विराटनगरमा जन्मेकी कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट बीए, बनारस हिन्दू विश्वविद्यालयबाट एमए (राजनीतिशास्त्र) र त्रिभुवन विश्वविद्यालयबाट एलएलबी गरिन्। धरानमा अध्यापन गरेपछि उनले वकालत सुरु गरिन् र २०६१ मा वरिष्ठ अधिवक्ता बनिन्।

Classic Tech Mobile
Classic Tech Desktop

२०६७ मा सर्वोच्च अदालतकी स्थायी न्यायाधीश बनेकी उनी २०७३ मा देशकै पहिलो महिला प्रधानन्यायाधीश भइन्। भ्रष्टाचारविरुद्ध कडा निर्णय गरेर “साहसी न्यायाधीश” को छवि कमाएकी उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दा ब्युँताउने आदेश दिएकी थिइन्।

उनको ११ महिने प्रधानन्यायाधीश पदकाल विवादरहित रहेन। आईजीपी नियुक्तिबारेको विवादले महाअभियोगसम्मको चुनौती आयो। त्यस्तै, सुडान घोटालामा दोषी प्रहरी अधिकारीलाई कम सजाय दिएको भन्दै आलोचना भयो। उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गर्दा पनि कानुनी विवाद उब्जियो। तर समग्रमा, उनले न्यायालयलाई “भ्रष्टाचारविरुद्ध कठोर” छविको नेतृत्व दिएका कारण व्यापक जनसमर्थन पाए।

सुशीलाको व्यक्तिगत जीवन पनि उत्तिकै संघर्षपूर्ण तर प्रेरणादायी छ। विराटनगरमै कार्यरत दुर्गा सुवेदीसँग उनको प्रेम सुरु भयो। दुर्गा शिक्षक थिए, सुशीला त्यही स्कुलमा अध्यापन गर्थिन्। पछिपछि दुर्गा विमान अपहरण प्रकरणमा संलग्न भई भारततिर पलायन भए र जेल परे। सुशीला अध्ययनका लागि बनारस गइन्। कठिन परिस्थितिमा पनि उनीहरूको सम्पर्क टुटेन। भारतको जेलमा परेका दुर्गालाई भेट्न सुशीला आफैं पुगेकी थिइन्।

१२ वर्षपछि नेपाल फर्किँदा दुर्गासँग न सम्पत्ति थियो, न घर–जग्गा। सुशीलाले भने प्रेम प्रस्ताव राख्दै दृढतापूर्वक भनिन्—“मलाई पाल्न तपाईंलाई पर्दैन, म आफैं पाल्न सक्छु।”

१३ साउन २०४६ मा विराटनगरको एक साथीको रेस्टुराँको छतमा उनीहरूले सानो समारोहबीच विवाह गरे। परिवारभन्दा पार्टी नेताहरू अभिभावक बने—गिरिजाप्रसाद कोइराला दुर्गाका तर्फबाट र मनमोहन अधिकारी सुशीलाका तर्फबाट परिवार बनेका थिए ।

विवाहपछि सुशीलाले वकालतमा करिअर अगाडि बढाइन्, दुर्गाले गृहस्थी सम्हाले। साथीहरूको सहयोगमा घर निर्माण भयो। सात महिनापछि प्रजातान्त्रिक आन्दोलन सुरु भयो। सुशीला पक्राउ परिन्, दुर्गा दिल्लीमा प्रवक्ता बने। संघर्ष र दूरीबीच पनि उनीहरूको सम्बन्ध अटुट रह्यो।

आज जब सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्, उनको जीवनसाथी दुर्गा सुवेदी अझै पनि छायाँझैँ साथ दिइरहेका छन्। अब अन्तरिम सरकार प्रमुखको रूपमा उनले मुलुकलाई कता लैजाने भन्ने कुरा उनको राजनीतिक क्षमता र अडानमा निर्भर छ।

प्रतिकृया