जलाइएका भवन सफा गर्दै नियमित काममा फर्किँदै नेपाल प्रहरी
प्रकाशित मिति
२०८२ भाद्र २७ गते, शुक्रबार ०९:५१
भदौ २७,२०८२ काठमाडौँ – जेनजी आन्दोलनका क्रममा रक्षात्मक अवस्थामा पुगेको नेपाल प्रहरी फेरि कार्यक्षेत्रमा फर्किन थालेको छ । मंगलबार दिउँसो भएको चौतर्फी आक्रमणमा आन्दोलनकारीले उपत्यकास्थित अधिकांश प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । यस क्रममा केही प्रहरीको ज्यानसमेत गएको थियो ।
आन्दोलनकारीले प्रहरीका संरचना, बन्दोबस्तीका सामान र पोशाकसमेत जलाएपछि प्रहरी अस्थायी रूपमा विस्थापित हुन पुगेको थियो । आन्दोलनकारीको निशानामा परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अहिले तत्काल प्रयोगयोग्य नरहेकाले बिहीबारदेखि नेपाल पुलिस क्लबमार्फत आंशिक रूपमा सेवा सञ्चालन गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार प्रहरी प्रधान कार्यालयले पोशाक र आवश्यक सामग्री उपलब्ध गराउने सहजीकरण गरिरहेको छ । उनका अनुसार बस्न सकिने भवनमा पुरानै कार्यालयबाट र बस्न अयोग्य बनेका स्थानमा नजिकैको विकल्प प्रयोग गरेर प्रहरीले काम सुरु गरेको हो ।
प्रहरी नियमित ड्युटीमा फर्किएसँगै जलेका संरचना र नष्ट भएका सामग्रीको मूल्यांकन गर्ने काम पनि सुरु गरिएको खनालले जानकारी दिए । आन्दोलनका क्रममा प्रहरीलाई लक्षित गरी गरिएको तोडफोडमा सयौं सवारीसाधनसमेत जलेर नष्ट भएका छन् ।








प्रतिकृया