• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

पत्रकार महासंघको आह्वान: जेनजी पुस्ताका माग गम्भीर रूपमा सम्बोधन गरियोस्

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार ०२:३२

भदौ २६ ,२०८२ काठमाडौँ – नेपाल पत्रकार महासंघले देश संक्रमणकालीन अवस्थामा रहेकाले यसलाई जतिसक्दो छिटो सुरक्षित अवतरण गर्नु आवश्यक रहेको जनाएको छ।

National Life

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ कि जेनजी पुस्ताका मागमाथि गम्भीर विमर्श गरी त्यसलाई सम्बोधन गर्न आवश्यक छ। “देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध उठेको युवाको आवाजलाई दबाउन गरिएको सरकारी दमन निन्दनीय छ,” विज्ञप्तिमा भनिएको छ।

सरकारले राजीनामा दिएको र अर्को सरकार नबनिसकेको कारण देशलाई तत्काल सुरक्षित अवतरण आवश्यक रहेको महासंघले जनाएको छ। महासंघले संवैधानिक प्रक्रियाबाट मात्र लोकतन्त्रलाई अझ सुदृढ गर्दै लैजान सकिने बताउँदै यसबाट कुनै विकल्प नरहेको प्रष्ट पारेको छ। वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरू मार्फत समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्नेमा महासंघको जोड छ।

Classic Tech Mobile
Classic Tech Desktop

महासंघले वर्तमानमा देशभर पत्रकारहरू असुरक्षित महसुस गरिरहेको र चार जना पत्रकार गोली लागेर घाइते भएको, धेरै मिडिया हाउसमा आक्रमण र आगजनी भएको तथ्य औँल्याएको छ। “जनतालाई सुसूचित गर्न र शान्ति तथा लोकतन्त्रका लागि क्रियाशील पत्रकार र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ। यो आपत्तिजनक विषय हो,” विज्ञप्तिमा भनिएको छ।

महासंघले राज्यसँग मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिन, र राज्य तथा आन्दोलनकारीलाई प्रेसमाथि निसाना नबनाउन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुन आग्रह गरेको छ।

प्रतिकृया