जेनजी आन्दोलनमा भाटभटेनीका २८ स्टोरमध्ये २१ मा क्षति,कर्मचारी व्यवस्थापन चुनौती
प्रकाशित मिति
२०८२ भाद्र २६ गते, बिहीबार ०३:०३
भदौ २६ ,२०८२ काठमाडौँ – मंगलबारको जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट्सका २८ वटा स्टोरमध्ये २१ वटा स्टोरमा क्षति पुगेको छ। केवल सात स्टोरमा तोडफोड वा क्षति नभएको भाटभटेनीले जनाएको छ।
भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार पूर्णरुपमा जलेर सञ्चालनमा आउनै नसक्ने खालका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको छ।
सीओओ पानु पौडेलले जानकारी दिएअनुसार, नक्साल भाटभटेनी, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको छ।
त्यसैगरी कलंकी, थिमी, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा तोडफोड गरी अधिकांस सामग्री लुटपाट गरिएको छ। बाँकी सात स्टोर—टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगन्ज—मा भने तोडफोड भएको छैन।
भाटभटेनीले क्षतिको पूर्ण विवरण आउन कम्तिमा दुई–तीन साता लाग्ने जनाएको छ। सुपरमार्केटले हजारौँ युवालाई पूर्णकालीन रोजगारी दिएको भएपनि, हालको अवस्थाले कर्मचारी व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ।








प्रतिकृया