एमालेले राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा जोड(पूर्णपाठ)
प्रकाशित मिति
२०८२ भाद्र २६ गते, बिहीबार ०२:२०
भदौ २६ ,२०८२ काठमाडौँ – नेकपा (एमाले)ले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानअनुसार र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ।
पार्टी सचिवालयका तर्फबाट बिहीबार (भदौ २६) महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा एमालेले युवापुस्ताका सरोकार सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। उनले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गर्दै सार्थक संवाद थाल्न र नेतृत्वदायी पहलकदमी लिन आग्रह गरेका छन्।
वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ। सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवापुस्ताका सरोकारहरू सम्बोधन गरिनुपर्छ।”
एमालेले विषम परिस्थितिमा संघीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका निम्ति रचनात्मक भूमिका खेल्नुपर्नेमा पनि जोड दिएको छ।
त्यसैगरी, “स्थानीय तहहरूले निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ। संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ।”











प्रतिकृया