काठमाडौं उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा ठूला नाम संलग्न
प्रकाशित मिति
२०८२ भाद्र ४ गते, बुधबार ०३:२७
भदौ ४,२०८२ काठमाडौं – काठमाडौं उपत्यकामा सार्वजनिक तथा नदीकिनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्ति र संस्थाहरू नै संलग्न रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त शुभाष बस्नेतले उपत्यकामा कम्तीमा एक लाख रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको तथ्यांक प्रस्तुत गरे। उनका अनुसार २०२१, २०४४ र २०५६ सालको नापी अध्ययन गर्दा धोबी खोलामा मात्रै करिब २०० रोपनी जग्गा अतिक्रमण भएको भेटिएको छ। त्यस्तै, तीन चरणको नापीको डाटाअनुसार करिब ३ हजार रोपनी नदी किनारको जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गरिसकेको उनले जानकारी दिए।
बस्नेतका अनुसार तिलगंगादेखि चोभारसम्म मात्र १० वटा टुँडिखेल बराबरको क्षेत्रफल अतिक्रमण भएको छ। “सार्वजनिक जग्गा कब्जा गर्नेहरू सामान्य झुपडीवाला होइनन्, ठूला–ठूला व्यक्ति, नाम चलेका विद्यालय र विश्वास नै गर्न नसकिने मान्छेहरू संलग्न छन्,” उनले भने।
प्राधिकरणले यस्ता जग्गा अतिक्रमण गर्नेहरूको सम्पत्ति रोक्का गर्न थालेको बस्नेतले बताए। उनका अनुसार माधव खोलाको सार्वजनिक जमिन मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरूको सम्पत्ति रोक्का भइसकेको छ।
यस्तै, चैत ३ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म १ हजार १५० अवैध प्लटिङ्ग कित्ताकाट रोक्का गरिएको पनि उनले जानकारी दिए।








प्रतिकृया