प्रधानमन्त्री ओलीको कटाक्ष : अदालतलाई झोक चल्दा प्रधानमन्त्री बर्खास्त र नियुक्ति गर्छ
प्रकाशित मिति
२०८२ भाद्र ३ गते, मंगलवार ०५:२६
भदौ ३,२०८२ काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतप्रति कटाक्ष गर्दै कहिलेकाहीँ अदालतलाई ‘झोक चल्दा’ प्रधानमन्त्रीसमेत बर्खास्त वा नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन्।
राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको विषय नरहेको जिकिर गरे।
“प्रधानमन्त्री संसदबाट चुनिन्छ। चुनिएर बन्छ। कहिलेकाहीँ अदालतले झोक चल्दा बाहेक संसदले हटाउँछ। अब अदालतलाई नै झोक चल्यो भने त कसको के लाग्छ र? अदालतले नै ठोकिदिन्छ, प्रधानमन्त्री बर्खास्ती गरिदिएँ,” प्रधानमन्त्री ओलीले भने।
उनले अदालत संविधानको व्याख्याता भएकाले अनुकूल व्याख्या गर्ने सुविधालाई लिएर कतिपय निर्णय गर्ने गरेको बताए। “कहिलेकाहीँ त फलानोलाई नियुक्ति गरिदिएको छु भनेर पनि ठोकिदिँदो रहेछ, अदालतले। किनभने संविधानको व्याख्याता हो अदालत, त्यसकारण व्याख्या गर्ने अधिकार प्रयोग गर्दा प्रधानमन्त्रीलाई संसदले होइन अदालतले नै नियुक्ति वा बर्खास्त गर्ने उदाहरण हामीसँग छ,” उनले भने।
प्रधानमन्त्री ओलीले नेपाल पूर्ण लोकतन्त्रमार्फत परिपूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको दाबीसमेत गरे।








प्रतिकृया