उपप्रधानमन्त्री सिंहको असन्तुष्टि : ‘कर्मचारीको ढिलासुस्तीले काम वर्षौं लम्बिन्छ’
प्रकाशित मिति
२०८२ भाद्र २ गते, सोमबार ०२:३४
भदौ २,२०८२ काठमाडौं— उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा मन्त्री सिंहले कर्मचारीहरूले काममा ढिलासुस्ती गर्ने प्रवृत्तिले मन्त्रालयका धेरैजसो काममा समस्या आएको बताए। उनका अनुसार, कतिपय काम तीन वर्षमै सकिनुपर्ने भए पनि कर्मचारीको ढिलाइका कारण छ वर्षसम्म लम्बिने गरेको छ।

सिंहले ऐन, नियम, कानून र नियमावलीअनुसार गर्नुपर्ने निर्णय समयमै नगर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिए। उनले भने, “काममा आलटाल नगरी जनतालाई परिणाम दिने गरी अघि बढ्नुपर्छ।”

उनले अघिल्लो वर्ष मन्त्रालयबाट खासै राम्रो काम नभएको स्वीकार्दै चालु आर्थिक वर्षमा भने जनताले महसुस गर्ने खालको परिणाम दिन आग्रह गरे।
कार्यक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालय अन्तर्गतका विभिन्न विभाग र निकायहरूलाई समेटेर कार्यसम्पादन सम्झौता गरिएको जानकारी दिए। सम्झौता अनुसार, हरेक महिना भएको उपलब्धि मन्त्रीलाई प्रतिवेदन गर्नुपर्नेछ। उपलब्धि नपुग्ने अवस्थाको कारण प्रमाणसहित पेश गर्नुपर्ने र अर्को महिनाको कार्ययोजना प्रस्तुत गर्नुपर्ने प्रावधान पनि रहेको उनले बताए।
यसै अवसरमा मन्त्री सिंह र सचिव सिग्देलबीच आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम तथा बजेटअनुसारका योजनाहरू समय, लागत र गुणस्तरसहित पूरा गर्ने सम्झौता भएको छ।




प्रतिकृया