भ्रष्टाचार शून्यमा पुर्याउन आचरण शुद्ध हुनुपर्छ: प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०८२ श्रावण ३० गते, शुक्रबार ०१:११
श्रावण ३०,२०८२ काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि कानुन मात्र पर्याप्त नहुने भन्दै आचरण, चरित्र र गुणस्तर सुधार आवश्यक रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित डिजिटल फ्रेमवर्क २०२५ कार्यक्रममा सम्बोधन गर्दै उनले शून्य भ्रष्टाचार सम्भव भए पनि त्यसका लागि शिक्षा सुधार र मानव गुणस्तर वृद्धि अपरिहार्य रहेको धारणा राखे।
उनका अनुसार, “कानुनले मात्र नियन्त्रण गर्न गाह्रो हुन्छ, लुकेर खाने प्रवृत्ति रहन्छ। मानिसले ‘म गलत गर्दिन’ भन्ने प्रतिबद्धता लिएमा सबै समस्या समाधान हुन्छ।” उनले शिक्षा प्रणालीलाई मोडल बनाउँदै राम्रो पक्ष उजागर गर्ने र नराम्रो पक्ष कमजोर पार्ने आवश्यकता औंल्याए।
सामाजिक प्लेटफर्म र प्रविधिको सही सदुपयोग गर्न सकिए देश र जनताले फाइदा लिन सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। साथै, उनले कृत्रिम बौद्धिकता (AI) को प्रयोगबाट नडराउन आग्रह गर्दै आफूले पनि AI, विशेषगरी ChatGPT, भरपूर प्रयोग गर्ने बताए।
बालबालिकालाई मोबाइलको अत्यधिक प्रयोगबाट जोगाउनुपर्नेमा पनि उनले जोड दिए। उनका अनुसार, मोबाइलमा गेम मात्र होइन, अन्य सिर्जनात्मक काममा लगाउन सकिने कुरा पनि छन्, जसलाई प्रोत्साहित गर्नुपर्छ।








प्रतिकृया