कुलिङ पिरियड विवाद: विशेष छानबिन समितिको सोधपुछ अन्तिम चरणमा
प्रकाशित मिति
२०८२ श्रावण ८ गते, बिहीबार १०:४२
श्रावण ८,२०८२ काठमाडौं । कुलिङ पिरियडसम्बन्धी गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछ प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। समितिले उच्च अधिकारीदेखि राजनीतिक दलका प्रमुख सचेतकहरूसम्म सोधपुछ गरिसकेको छ।

सोधपुछमा प्रमुख सचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा सहसचिवहरू, साथै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा रहेका छन्।
साथै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियारलगायत नेताहरूसँग पनि समितिले सोधपुछ गरिसकेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति नपाउने गरी ‘कुलिङ पिरियड’को व्यवस्था विधेयकमा राखे पनि उक्त व्यवस्था निष्क्रिय हुने भाषा समावेश गरिएको भन्दै विवाद उठेको थियो। त्यसैको छानबिन गर्न विशेष समिति गठन गरिएको हो।
२३ असार २०८२ मा गठित ७ सदस्यीय समितिको संयोजक जीवन परियार छन्। समितिमा नेपाली कांग्रेसका सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाका रोशन कार्की सदस्य रहेका छन्।



प्रतिकृया