अत्याधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ खिच्दै
प्रकाशित मिति
२०८२ असार ४ गते, बुधबार ११:०२
असार ४, २०८२ काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पुनः तरलता संकलन गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजेका लागि निक्षेप संकलन (डेपोजिट कलेक्सन) को बोलकबोल कार्यक्रम तय गरेको छ।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन २१ दिन अवधिका लागि हुनेछ। संकलित रकमको सावाँ तथा ब्याज आगामी साउन ७ गते भुक्तानी गरिनेछ। यस पटकको बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच–पाँच करोड रुपैयाँका गुणांकीय अंशमा बोलकबोल गर्न सक्नेछन्। बोलकबोलको ब्याजदर समेत प्रतिस्पर्धात्मक आधारमा निर्धारण गरिनेछ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरु मात्र यस बोलकबोल प्रक्रियामा सहभागी हुन पाउने छन्। इच्छुक संस्थाहरुले आफू जम्मा गर्न चाहेको रकम र सोको ब्याजदर (दशमलब पछाडि चार अंकसम्म उल्लेख गरी) प्रस्ताव गर्नु पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ।
बोलकबोलमा सहभागी संस्थाहरुबाट आएका प्रस्तावहरू मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।






प्रतिकृया