• १८ भदौ २०८३, बिहीबार
  • १२ः४३ दिउँसो

अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

प्रकाशित मिति

२०८१ पुष १ गते, सोमबार ०३:२८

पुष १, २०८१ काठमाडौँ: नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिनसक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहनेगरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

उनले यस सेवाबाट देशभरका नागरिक लाभान्वित हुने गरी सेवा विस्तार गर्न मन्त्रालयले आवश्यक काम गरिरहेको बताए । “देशमा मिर्गौला प्रत्यारोपण गरेका ९८ प्रतिशत तथा फोक्सो प्रत्यारोपणपछि ९० प्रतिशत नागरिक सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौँ । त्यसका लागि हाल भक्तपुरस्थित केन्द्रका अलावा सरकारीस्तरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अङ्ग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बागमतीको भरतपुर अस्पतालमा समेत मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य छ”, मन्त्री पौडेलले भने ।

Kamana Sewa

अनलाइनमार्फत अङ्गदान गर्नेले दर्ता गराउन सक्ने र लिन चाहनेले त्यसबारे जानकारीसमेत पाउने व्यवस्था गरिएको छ । मस्तिष्क मृत्युपश्चात् तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपणका लागि बिरामी उपचाररत अस्पतालले समेत तत्काल जानकारी प्राप्त गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले बताए ।

Classic Tech Desktop

नेपालमा १२ वर्षमा सहिद धर्मभक्त केन्द्रमार्फत एक हजार ३३५ मा मिर्गौला तथा ३० जनामा फोक्सो प्रत्यारोपण भइसकेको छ । देशको सरकारी प्रत्यारोपणसम्बन्धी एक मात्र विशिष्टीकृत यस केन्द्रले बर्सेनि तीन हजार अपेक्षितमध्ये दुई सयलाई मात्र मिर्गौला प्रत्यारोपण सुविधा दिन सकेको छ ।

दाता अभावमा अन्य अस्पतालले एक सय जनालाई मात्र अङ्ग प्रत्यारोपण गर्न सकेका छन् । जीवित व्यक्तिले परिवारलाई मात्र दिन पाउने तर मस्तिष्क मृत्यु भएपछि दान गर्ने दाता कम भएका कारण कैयौँले दाता अभावमा ज्यान गुमाउनु परिरहेको त्यस अवसरमा जानकारी दिइयो ।

दाता, लिन चाहने बिरामी र अस्पताल बढ्दै जाँदा अनलाइन प्रणालीले ताजा जानकारी दिने भएकाले यसले धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास गरिएको केन्द्रकी मिर्गौला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठले बताए । “एकीकृत अनलाइन प्रणालीले अस्पताल र बिरामी दुवैलाई धेरै सजिलो बनाउँछ । यसबाट धेरैजना लाभान्वित हुने हाम्रो विश्वास छ”, उनले भने ।

प्रतिकृया