मध्यपुर थिमिको बजेट ३ अर्ब २२ करोड, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि ५३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन
प्रकाशित मिति
२०८१ असार १० गते, सोमबार ०४:०७
असार १०, २०८१ भक्तपुर : मध्यपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरसभाको दशौं अधिवेशनमा आगामी आ.व. का लागि १ अर्ब ६९ करोड ९ लाख १३ हजार ५ सय रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिएका हुन् ।

नगरपालिकाको कुल बजेटमध्ये पुँजीगत खर्चका लागि ९८ करोड ३७ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिए । पुँजीगत खर्चका लागि नगरपालिकाले विनियोजन गरेको रकम कुल बजेटको ५८.१८ प्रतिशत हो ।
त्यस्तै, आगामी आ.व. मा चालू खर्चका लागि नगरपालिकाले कुल बजेटको ४१.८२ प्रतिशत अर्थात ७० करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ६१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरिने अनुमान गरेको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट ३५ करोड ८८ लाख रुपैयाँ र अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत् ६० करोड १ लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान छ । त्यस्तै, बागमती प्रदेश सरकारबाट प्राप्त हुने १० करोड ६६ लाख रुपैयाँ र लागत सहभागीता १ करोड सहित १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा कमेरोटार जग्गा एकीकरण आयोजनाका लागि ५७ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सिन्टिटार जग्गा एकीकरण आयोजनाका लागि २१ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिए ।
मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि ५३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि २२ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै, सडक बोर्डको ७० लाख रुपैयाँ सहित १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको श्रेष्ठले बताए ।
साथै, नगरपालिकाको सञ्चित कोषबाट बेहोर्ने गरि १ अर्ब ६९ करोड ९ लाख रुपैयाँ आयोजनाहरु, अस्पताल, सडक बोर्ड, सामाजिक सुरक्षा भत्तासहित कुल ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले जानकारी दिए ।






प्रतिकृया