• २६ असार २०८३, शुक्रबार
  • ३:३९ बिहान

आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति

२०८० माघ २१ गते, आईतवार १२:०९

माघ २१, २०८० काठमाडौँ: उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्ने र जुनसुकै परिस्थितिको सामना गर्न सुरक्षाकर्मीहरू सदैव तयार रहनुपर्ने बताउनुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।
उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानूनहरूको निर्माण गर्दै शान्ति भंग गर्ने र संविधान विरूद्ध काम गर्नेहरु प्रति कडा रूपले प्रस्तुत हुने नीति अवलम्बन गरिएको बताउनुभयो ।

Kamana Sewa

समारोहमा गृहसचिव दिनेश भट्टराईले सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने विचार व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

Classic Tech Desktop

गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया