नेपाल र भारतबीच आज गरिने सहमतिका विषय यस्ता छन्
प्रकाशित मिति
२०८० पुष १९ गते, बिहीबार १०:१४
पुस १९, २०८० काठमाडौँ: काठमाडौंमा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा विद्युत र हवाई क्षेत्रका विभिन्न विषयमा सहमति हुने भएको छ । लामोसमय देखि प्रतिक्षा गरिएको बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा आज हस्ताक्षर गर्ने तयारी भएको छ ।
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । यो सँगै आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने नेपालको लक्ष्य पुरा हुने देखिएको छ ।
बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पंकज अग्रवालले हस्ताक्षर गर्ने कार्यतालिका छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बिजुली निर्यातसम्बन्धी गरेको सहमतिले ७ महिनापछि आज पूर्णता पाउन लागेको हो । भारतको मन्त्रिपरिषद्ले विद्युत आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ ।
सहमतिपछि नेपाल र भारतका निजी क्षेत्रले पनि बिजुली आयात निर्यात गर्न सक्नेछन् । त्यस्तै संयुक्त आयोगको बैठकमा नागरिक उड्यन क्षेत्रका विभिन्न विषयलाई पनि एजेण्डा बनाइएको छ ।
बैठकमा छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव तयार पारिसकेको छ । मन्त्रालयले तयार पारेको प्रस्तावमा भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनका लागि टेक्निकल कोर्डिनेशन टिमको बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ ।
त्यस्तै, तेस्रो देशको एयरलाइन्सका लागि भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न नयाँ एयर रुटको लागि आग्रह गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न शहरमा सीधा उडानको लागि अनुमति माग्न विषय पनि प्रस्तावमा समेटिएको छ ।
यसैगरी बुद्ध एयरलाई भारतका अन्य शहरहरु पटना, लखनउ, गया, देहरादूनसँग पनि सीधा हवाई उडानका लागि अनुरोध गरिने प्रस्ताव गरिएको छ ।
यस्तै हिमालयन एयरलाइन्सलाई भारतमा उडान अनुमति दिनको लागि आग्रह गर्ने, नेपाल वायुसेवा विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्ली सहित अन्य शहरहरूमा उडानको अनुमति दिन प्रस्ताव गर्ने तयारी गरिएको उड्यन मन्त्रालयले जनाएको छ ।







प्रतिकृया