• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार १२:१५

कात्तिक २०, २०८० काठमाडौँ: भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.३० गण बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोदसिंह सिख र नेपाल प्रहरीका सहायक हवल्दारको कमाण्डमा राहत सामग्री आज बिहान साढे ९ बजे प्रभावित क्षेत्रतर्फ पठाइएको हो।

National Life

‘भूकम्पपीडितका लागि भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यसतर्फ पठाएका छौँ’, उनले भने, ‘एक ट्रक जाजरकोटका लागि र एक ट्रक रुकुम पश्चिमका प्रभावित क्षेत्रमा पठाइएको हो।’


प्रजिअ पोखरेलका अनुसार उक्त राहत सामग्री प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिनेछ। भारत सरकारबाट प्राप्त उक्त राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमा आइतबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

राहत सामग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल छ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्याङ्केट एक हजार थान, त्यसैगरी ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटालगायत छन्। रासस

प्रतिकृया