• ३१ भदौ २०८३, बुधबार
  • ७ः०६ बेलुका

विद्युत् चुहावट १२ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०१:०६

लहान, विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ ।

National Life

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो ।

गत आव ०७३/७४ सम्म ३८ दशमलव ९३ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आर्थिक बर्ष ०७४/०७५ मा विद्युत्् चुहावट ३४ दशमलव ८८ प्रतिशत झेरेको र आव ०७५/७६ सकिँदा विद्युत् चुहावट २७ दशमलव २९ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै आव ०७५/७६ मा विद्युत्को महसुल नबुझाउने ४४९ जना ग्राहकको विद्युत् लाइन काट्दा रु एक करोड ९२ लाख १२ हजार ९२५ बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवको भनाइ छ ।

त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ५३७ जनालाई पक्राउ गरी जरिवानाबापत रु ६७ लाख ८० हजार ११५ राजश्व सङ्कलन भएको जनाएको छ ।

सो क्रममा ४४३ थान विद्युत् उपकरणसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । त्यस्तै विद्युत् मिटरबाट विद्युत् चोरी गर्ने १५ जनामाथि कारवाही गरी रु २१ लाख १७ हजार ६३३ राजश्व सङ्कलन गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ ।

प्रतिकृया