आफ्नो तलबभत्ताको रकम सामाजिक कार्यमा लगाउने र गाडी सुविधा नलिने एक निस्वार्थी उपमेयर
प्रकाशित मिति
२०७९ फाल्गुन ३ गते, बुधबार १२:०१
३ फागुन २०७९, काठमाडौँ: अहिलेको बिसौं शताब्दिमा विज्ञानले निकै ठूलो फड्को मारिसकेको छ । विज्ञानले मानिसलाई चाहिने सुःख, सुविधाको लागि विभिन्न कुराहरु आविष्कार गरेको छ । तर यो विकासको साथसाथै मानिसमा हुने मानवीय गुण दया, मायाँ, प्रेम, करुणा, त्याग आदिमा भने व्यापक क्षयीकरण भएको छ । अहिलेको जमानामा मानिसले केही पैसाको लागि अर्कोको ज्यानै लिन पछि पर्दैनन् । यस्तो अवस्थामा बादलमा चाँदीको घेरा जस्तै आशाको दियो बालेर उदाएका छन् भक्तपुर चाँगु नारायण नगरपालिकाको उपमेयर रमेश बुढाथोकी । यस प्रसंगमा मातृभूमि न्यूजका प्रतिनिधिले उनीसँग कुराकानी गर्दा उनले बताए, “मैले चुनावमा उठ्दा नै भनेको थिएँ कि मैले पाउने तलब सामाजिक कार्यमा खर्च गर्दछु र गाडी अस्पतालमा बिरामी ल्याउन ।” २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिकाका उपप्रमुख पदमा बिजयी भएका थिए ।
तदनुरुप उनी विजयी भएर उप मेयरको कार्यभार सँभालेपछि उनले सो अनुसार कार्य गर्ने निर्णय गरे । कुराकानीको क्रममा उनले बताए, “मैले पाउने सरकारी गाडी चाँगुनारायण अस्पताललाई दिएको छु । त्यो गाडी बिरामीहरुलाई घरबाट अस्पताल ल्याउन र सुत्केरीहरुलाई अस्पताल ल्याउन प्रयोग भैरहेको छ । मैले त्यो गाडी प्रयोग नै नगर्ने गरी अस्पताललाई दिएको हो ।” उनले अगाडि थपे, “साथै तलब भत्ताबाट करिब २५० जना बच्चाहरुलाई ड्रेस किनिदिएको, ४ वटा स्कूलका बच्चाहरुलाई किनिदिएको, एउटामा १०० जोर, एउटामा ७२ जोर, एउटामा ४० जोर र अर्कोमा ४५ जोर कपडा किनिदिएको छु । त्यस्तै दुर्घट्नामा परेको बिरामीलाई २५,००० सहयोग गरेको छु ।” चुनाव भन्दा अगाडि नै मेयरको टिकट पाएको खण्डमा केही पनि नलिने घोषणा गरे अनुरुप उप मेयरको टिकट पाए पनि आफूले केही पनि नलिएको उनी बताउँछन् । उनका अनुसार उनले ५ वर्ष नै तलब भत्ता नलिने घोषणा गरेका हुन् ।
आफ्नो दैनिक खर्च कसरी चलाउनुहुन्छ भन्ने प्रश्नमा उनले भने, “मैले मेरो एउटा घर भाडामा दिएको छु र आम्दानीको वैकल्पिक स्रोतबाट आफ्नो खर्च चलाएको छु ।” महिनामा कति तलब सामाजिक कार्यमा खर्च गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, “महिनामा ३३ हजार ६ रुपैयाँ तलब हुन्छ, भत्तासहित गर्दा कहिले ६० र कहिले ६५ हजार सम्म आउने गर्दछ ।” तपाईले यसरी तलब भत्ता नलिएर समाजमा उदाहरणिय काम गरेर देखाउनुभएको छ, अरुहरुलाई के भन्न चाहनुहुन्छ भन्दा उनले भने, “मैले अरुलाई खासै केही भन्न चाहन्न । सबैको आ आफ्ना समस्याहरु हुन्छन् । दान, धर्म गरेर मानिस कहिले गरीब हुँदैन भन्ने मैले विश्वास राख्दछु । हामीले सत्कर्म ग-यौं भने भगवानले हामीलाई हेर्नुहुन्छ भन्ने मेरो सोचाई छ ।”
अन्तमा तपाई भन्दा धनी र हुनेखाने पनि मानिसहरु समाजमा छन् तर उनीहरुले दीनदुःखीहरुको बारेमा खासै विचार गर्दैनन्, खाली पैसा थुपार्न मात्र मस्त हुन्छन्, तपाईलाई स्वार्थलाई छोडेर जनताको सेवा गर्न के कुराले प्रेरित ग-यो भन्ने प्रश्नमा उनले भन्दछन्, “मैले पहिले पनि समाजमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छु । यस्ता कार्य गर्दा मेरो मलाई शान्ति मिल्दछ, खासमा मैले शान्तिको लागि यस किसिमका कार्यहरु गरेको हुँ ।”
नीजस्तै समाजमा रहेका अरु मानिसहरु, राजनीतिज्ञहरुले समाज र देशको हित हुने कार्यमा आफूलाई लगाउनु आवश्यक छ । धनले त मानिसलाई कहिल्यै पुग्दैन र मानिस मर्दा एक पैसा पनि लिएर जान सक्दैन । विश्वलाई जितेका महान सम्राट सिकन्दरले पनि यही कुरालाई बुझेर आफू मर्दा दुवै हात खाली बाहिर देखाइयोस् भनेका थिए जसले गर्दा सामान्य मानिसहरुले यो कुरा बुझुन् कि सिकन्दर जस्तो विश्व सम्राट पनि मर्दा खाली हात जानु पर्यो, यस सम्बन्धमा सबैले एकपटक विचार गर्ने कि ?










प्रतिकृया