• २० भदौ २०८३, शनिबार
  • ४ः३९ बिहान

सय पटकभन्दा बढी पाखुराको जोर्नी फुस्किएका व्यक्तिको शल्यक्रिया सफल

प्रकाशित मिति

२०७९ श्रावण १ गते, आईतवार ०३:५४

१ साउन २०७९ काठमाडौंः बानेश्वर निवासी ४० वर्षीय सागर उप्रेतीको १२ वर्षअघि पाखुराको जोर्नी पहिलो पटक फुस्कियो। तत्कालै नजिककै स्वास्थ्य संस्थामा गएर जोर्नी तानतुन पारेर मिलाइहाले।त्यसको केही समयपछि उनमा फेरि जोर्नी फुस्किने समस्या देखियो। त्यसपछि पनि उनी पुनः नजिकैको स्वास्थ्य संस्थामा गए। त्यसैगरी हात तानेर जोर्नी मिलाउने काम भयो।

National Life

जोर्नी फुस्किने यस्तो समस्यालाई चिकित्सकिय भाषामा रिकरेन्ट सोल्जर डिस्लोकेसन भनिन्छ। सागरको समस्या निको हुनुका सट्टा जोर्नी झन् छिटो छिटो फुस्किन थाल्यो। जति पटक उनको जोर्नी फुस्किन्थ्यो त्यति नै पटक उनी स्वास्थ्य केन्द्रमा गएर तानतुन पारेर जोर्नी मिलाउन लगाउथे र आफ्नो काममा फिर्ता जान्थे।


तर गएको केहि महिनामा समस्या निकै बढन थाल्यो। सुत्ने बेला कोल्टे फर्किदा समेत पाखुराको जोर्नी फुस्किन थाल्यो। त्यसपछि उनी किष्ट मेडिकल कलेज इमाडोलमा उपचारका लागि पुगे। अस्पतालमा आवश्यक परीक्षणपछि उनलाई अस्पतालकै सेन्टर फर एड्भान्स आर्थोस्कोपी एन्ड स्पोर्टस मेडिसिन विभागमा लगेर थप उपचार अगाडि बढाइयो। उनको उपचार डा अमित जोशीको नेतृत्वमा अगाडि बढ्यो। उपचार टोलीमा डा श्रीराज श्रेष्ठ र डा सौरभ दाहाल पनि थिए। डा. जोशीको टिमले एक्सरे, सिटी स्क्यान र एमआरआइको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लेनोइड भन्ने भागमा ठूलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाए।

Classic Tech Desktop

‘धेरै पटक फुस्किरहने गर्दा हड्डी धस्ने हुन्छ तर उप्रेतीमा यो मात्रा निकै धेरै पाइयो। रिकरेन्ट सोल्जर डिस्लोकेसनमा गरिने अरु अप्रेशन जस्तै आर्थोस्कोपिक ब्यांकर्ट रिपेयर र लटारजेट प्रोसुडर मात्र गरेर उप्रेतीको समस्या समाधान नहुने देखियो,’ किष्ट अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यही कारण डा। जोशीको टिमले नेपालमै अहिलेसम्म नभएको कंग्रुएन्ट आर्क लटरजेट प्रोसुडर अप्रेशन गर्ने निर्णय लियो र गत असार १० गते किष्ट मेडिकल केलजमा यो अप्रेशन सफलतापूर्वक सम्पन्न भयो।’


यो अप्रेशनमा कुमको कोराकोइड भन्ने हड्डीको टुक्रालाई ल्याएर जोर्नी नजिकै टिटानियम स्क्रुको मद्दतले जोडिने गरिन्छ जसले गर्दा फेरि जोर्नी फुस्किदैन। पाखुराको जोर्नी फुस्किने समस्या एक अर्थोपेडिक इमरजेन्सी हो। यति धेरै संख्यामा पाखुराको हड्डी धसेको बिरामी कमै हुने भएकाले नेपालमा यस्तो केस पहिलो भएको अस्पतालको अनुमान छ।

प्रतिकृया